पहिचानका आधारमा मधेशको नाम राख्न सफल भएकोमा गौरान्वित छौँ : मुख्यमन्त्री राउत

0 Shares

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पहिचानको आधारमा प्रदेशको नाम राख्न सफल भएकामा गर्व लागेको बताएका छन् ।

सप्तरीमा बिहीबार आयोजित कार्यक्रममा उनले पहिचानको आधारमा नामकरण गर्ने मधेश प्रदेश नै पहिलो भएको दावी गरे ।

अब ढिलो चाँडो संविधानले दिएको अधिकार प्रदेशवासीले पाउने पनि मुख्यमन्त्री राउतले बताए । ‘हिजोसम्म हामीलाई जुनसुकै व्यवहार गरेपनि आउने दिनमा यो अधिकार पनि लिन्छौं’ उनले भने ।

जनसंख्याका आधारमा मधेश प्रदेश पहिलो रहेको भन्दै मुख्यमन्त्री राउतले अरु विषयमा पनि प्रदेशलाई एक नम्बर बनाउने दावी गरे ।

‘मुलुकमै जनसंख्यामा १ नम्बर भइसकेका छौं’ उनले भने, ‘अब उद्योगधन्दा सञ्चालन गरेर, कृषिको उत्पादकत्व बढाएर उद्योगी, व्यवसायी, कृषकको चाहना पूरा गरेर यो प्रदेशलाई मुलुककै एक नम्बर प्रदेश बनाउँछौं ।

विकासको मामिलामा, शान्ति सुरक्षा र समृद्धिको मामिलामा यो प्रदेश नै १ नम्बर रहनेछ ।’

केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार मधेश प्रदेशमा सबैभन्दा धेरै ६१ लाख २६ हजार २८८ जनसंख्या रहेको छ । दोस्रो धेरै बागमती प्रदेशमा ६० लाख ८४ हजार ४२ रहेको छ ।

मुख्यमन्त्री राउतले निजी क्षेत्रको चाहना अनुसार नीति तथा कार्यक्रमहरु नआएसम्म समृद्धि नआउने भन्दै संघीय सरकारले त्यसतर्फ ध्यान दिन नसकेको बताए ।

प्रदेश सरकारले उद्योग ऐन ल्याइसकेको र ३-४ दिनभित्रै नियमावली ल्याएर कार्यान्वयनमा जाने उनले जानकारी दिए ।

उनले उद्योग सञ्चालन गर्न लिजमा जग्गा उपलब्ध गराउने, विद्युतमा अनुदान दिने र उद्योगलाई सुरक्षा दिनेजस्ता विषय ऐनमा राखिएको बताए ।

सार्वजनिक जग्गा कसैलाई दिनुपर्दा संघीय सरकारको भूमि व्यवस्था मन्त्रालयसँग अनुमति लिनुपर्ने व्यवस्था अवैज्ञानिक रहेको पनि मुख्यमन्त्री राउतले बताए ।

‘अहिले पनि जग्गा संघभित्र राख्नुपर्ने मानसिकता छ । त्यसका कारण पनि जग्गा प्राप्ति गर्न सकेका छैनौं’ उनले भने, ‘तथापि विश्वास छ । मुलुक संघीयतामा आइसकेपछि प्रदेशले संविधान अनुसार पाउने अधिकार पाउँछ ।’

कार्यक्रममा प्रदेशका अर्थ मन्त्री शैलेन्द्र साहले किसानका मलखाद, सिँचाइलगायतको समस्याबारे मधेश सरकार संवेदनशील रहेको बताए ।

रासायनिक मलको अभाव पूर्ति गर्न आगामी दिनमा प्रदेश सरकारले अर्गानिक मलमा ५० देखि ७५ प्रतिशतसम्म अनुदान दिने पनि उनले बताए ।

सम्बन्धित समाचार

सबै