
काठमाडौं : संयुक्त अधिराज्य (बेलायत) का लागि नेपाली राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका लागि नेपाली राजदुतमा आचार्यलाई नियुक्त गरेकी हुन् ।
संविधानको धारा २८२ बमोजिम राष्ट्रपतिले आचार्यलाई आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आचार्यलाई गत कात्तिक ११ गतेको मन्त्रिपरिषद् बैठकले बेलायतको राजदूतका लागि सिफारिस गरेको थियो। मन्त्रिपरिषद्को सिफारिसानुसार संसदीय सुनुवाइबाट अनुमोदन भएपछि आचार्य राजदूत नियुक्त भएका हुन्।
सरकारले पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई फिर्ता बोलाएर उनलाई बेलायतको राजदूतमा नियुक्त गरेको थियो । संसदीय सुनुवाइ प्रक्रिया पुरा भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले आचार्यलाई राजदूतमा नियुक्त गरेकी हुन् ।
सचिवबाट अवकाश पाएका आचार्य यसअघि संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि भएर काम गरेका व्यक्ति हुन् । शेरबहादुर देउवाले नै २०७४ सालमा प्रधानमन्त्री हुँदा आचार्यलाई प्रमुख आर्थिक सल्लाहकार बनाएका थिए ।