काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनको बैठक सकिएको छ। प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको बैठक केही बेर अघि सकिएको हो।
पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे केन्द्रित रहेको बताइएको छ । अनौपचारिक जानकारी अनुसार अपरान्ह ४ बजे बस्ने बैठकले त्यस सम्बन्धमा आवश्यक निर्णय गर्नेछ ।
निर्वाचन आयोगले वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न आग्रह गरेपछि गठबन्धन सरकार दबावमा छ ।
बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव लगायत नेता सहभागी थिए । तर राष्ट्रिय जनमोर्चा भने बैठकमा सहभागी बएको थिएन।
पछिल्लो पटक संविधानसँग बाझिएका कानुन संशोधनको दाबी गरेको गठबन्धनको बैठक बसेको हो । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरी संविधानअनुसार बनाउने र त्यसैअनुसार स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनाव पटक गर्ने गरी छलफल गर्दै आएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायत विषयमा छलफल भएको थियो ।
कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा महामन्त्री गगन थापाले स्थानीय तहको चुनावलाई लिएर गठबन्धनले अघि सारेको विकल्प संविधानसम्मत नभएको बताइ सकेका छन् ।
तर, माओवादी केन्द्र र एकीकृत समाजवादी भने पहिले संघको निर्वाचन र त्यसपछि स्थानीय तहको निर्वाचन चाहन्छन् । त्यसैले संविधान र ऐनमा एकरूपता ल्याउने भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने गृहकार्यमा गठबन्धन छ ।
यो विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चासो दिएकी छन् । उनले प्रधानमन्त्री देउवासँग छलफल पनि गरेकी छन् ।