लिङ्देनलाई कमल थापाको अनुरोध पत्र- मलाई भित्तामा पुर्‍याएर पार्टीलाई दुर्घटनामा नलैजानुस् – The kathmandu news

लिङ्देनलाई कमल थापाको अनुरोध पत्र- मलाई भित्तामा पुर्‍याएर पार्टीलाई दुर्घटनामा नलैजानुस्

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई अर्को ध्यानाकर्षण पत्र पठाएका छन्।

गत मंसिर २७ गते लिङ्देनलाई पत्र पठाएर एकता महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासबाट भएको हस्तक्षेपको छानबिन माग गरेका थापाले आइतवार फेरि अर्को पत्र पार्टीमा दर्ता गराएका छन्।

उनले उक्त ध्यानकर्षण पत्रमा एकता महाधिवेशन भएयता आफूलाई पार्टीका सबै गतिविधिबाट अलग गर्ने कोसिस भएको भन्दै आपत्ति प्रकट गरेका छन्। अध्यक्ष थापाले निर्मल निवासले गरेको हस्तक्षेपको विरोध र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन खोज्ने योजनालाई अस्वीकार गर्दैमा राजतन्त्र विरोधी नहुने पनि पत्रमा उल्लेख गरेका छन्।

‘पार्टीको आन्तरिक मामिलामा निर्मल निवास र राजा ज्ञानेन्द्रको नाङ्गो हस्तक्षेपको विरोध गर्नु, पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने योजनालाई अस्विकार गर्नु र पार्टीलाई भजनमण्डली हुनबाट रोक्नु राजसंस्थाको विरोध होइन’, उनले भनेका छन्, ‘संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रको पक्षमा अझ सशक्त रूपमा प्रस्तुत हुन त्यो अनिवार्य शर्त हो। राप्रपा सक्रिय र निरंकुश राजतन्त्रको पक्षमा छैन भन्ने कुरा हामीले छाती खोलेर भन्न हिच्किचाउन हुँदैन। राजसंस्थाप्रतिको हाम्रो आस्था सैद्धान्तिक निष्ठा हो। राजसंस्था पार्टी राजनीतिभन्दा माथि सबैको साझा भएर रहन सक्नुपर्छ।’

थापाले एकता महाधिवेशनपछि पार्टीले गति लिने अपेक्षा विपरीत अहिले परिस्थिति विस्तारै निराशाजनक हुँदै गइरहेको पनि टिप्पणी गरेका छन्।

‘पार्टीको वृहत्तर हित र एकतालाई अक्षुण्ण राख्ने पवित्र उद्देश्यका साथ मैले उठाएका सैद्धान्तिक, राजनीतिक एवम् सांगठनिक विषयलाई सम्बोधन गर्नुको सट्टा तपाईंले मेरो पत्रलाई रद्दिको टोकरीमा फालिदिनु भएको छ’, उनले आरोप लगाउँदै भनेका छन्, ‘महाधिवेशनपछि पार्टीका कुनै पनि कार्यक्रममा मलाई संलग्न गराइएको छैन। पार्टीका कार्यक्रम र गतिविधिबारे मलाई कुनै सूचना र जानकारी दिइएको छैन। योजनावद्ध रूपमा अलग्याउने प्रयास भइरहेको देख्छु।’

थापाले राप्रपा निर्मल निवासले खोलेको पार्टी नभएको पनि उल्लेख गरेका छन्। ‘राप्रपा निर्मल निवासले खोलेको पार्टी होइन। निर्मल निवासले पार्टी चलाउने चेष्टा गर्न पनि हुँदैन। नविर्सौँ, राप्रपा राष्ट्रवादी र प्रजातन्त्रवादी मान्यता बोकेका स्वाभिमानी जनताको पार्टी हो। यसलाई त्यही रूपमा कायम राख्नुपर्छ’, उनले भनेका छन्, ‘पूर्व अध्यक्षहरू सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पशुपति शमशेर राणा र कमल थापाले कायम राखेको पार्टीको स्वतन्त्र, स्वाभिमानी र प्रजातान्त्रिक चरित्र र इतिहास तपाईंको पालामा स्खलित नहोस् भन्ने म चाहन्छु।’

उनले लिङ्देनले आफूलाई हराएर अध्यक्ष भएपछि परिणामलाई कुनै चुनौती नदिएको पनि बताएका छन्। ‘तपाईं पार्टीको गरिमामय अध्यक्ष पदमा निर्वाचित भइसक्नुभयो। मैले निर्वाचन परिणामलाई चुनौती दिएको छैन’, उनले थपेका छन्, ‘आउँदो पाँच वर्ष तपाईंले नै पार्टी हाँक्ने हो। सबैलाई समेटेर पार्टीलाई दुर्घटनाबाट जोगाउने पनि तपाईंको मुख्य जिम्मेवारी हो।’

थापाले आफूले मंसिर २७ गतेको पठाएको पत्रलाई तत्काल केन्द्रीय समितिमा पेश गर्न पनि माग गरेका छन्। ‘मैले मंसिर २७ गते पठाएको पत्रमा उल्लेखित विषयलाई तत्काल केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेर त्यसबारे आवश्यक सम्बोधन गर्न आग्रह गर्दै यो स्मरण पत्र पुनः पठाएको छु’, उनले भनेका छन्, ‘फेरि पनि मेरो मागलाई उपेक्षा गरेर मलाई भित्तामा पुर्‍याउने तथा पार्टीलाई दुर्घटनातर्फ धकेल्ने कार्य तपाईंबाट हुने छैन भन्ने अपेक्षा गरेको छु।’

Geeklyhub.com Promo code 2023 ResearchPapers247.com Discount AcademicExperts.com discount code Promo Coupons writing help free cv writing help free essay writing help online SuperiorPapers Promo Code mathlab