गृहमन्त्री श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी गर्नेलाई कारबाहीको दायरमा ल्याइने

0 Shares

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै नेक्ससलाई कारबाहीको दायरमा ल्याइने बताइएका छन् 

बिहिबार आफूसँग भेट गर्न आएका नेकपा एकीकृत समाजवादीका नेता तथा जनवर्गीय संगठनका नेताहरूसँगको छलफलका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अगाडि बढेको बताए ।

‘निर्दोष कुनै पनि हालतमा पर्ने छैनन्, दोषी कुनै पनि हालतमा छुट्ने छैनन्,’ श्रेष्ठले भने ।श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरण भ्रष्टाचार मात्रै नभएर संगठित अपराध भएको उल्लेख गरे । नक्कली भुटानी शरणार्थी प्रकरण राज्यविरुद्धकै अपराध भएको पनि उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले आफूलाई कुनै पनि नेताले दबाब नदिएको उल्लेख गर्दै दबाब आए त्यसलाई थेगेरै भएपनि अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुर्‍याइने दृढता व्यक्त गरे । शरणार्थी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट आफूले दह्रो साथ र आडभरोसा पाएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ ।

भेटमा एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरू, जनवर्गीय संगठनका केन्द्रीय नेताहरूले शरणार्थी प्रकरणमा सरकारले प्रशंसनीय काम गरेको भन्दै बधाई दिएका थिए ।

सम्बन्धित समाचार

सबै