केपी शर्मा ओलीले सर्बोच्च अदालतले अत्यधिक न्यायिक सक्रियतासहित राजनीतिक विषयमा हात हालेर दलीय व्यवस्थामाथि धक्का दिन खोजेको आरोप लगाएका हुन् ।
साथै ओलीले धैर्य, साबधानी र आत्मविश्वासका साथ कोभिड-१९ को रोकथाम र नियन्त्रणका साथै आफ्नो सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को यात्रालाई अघि बढाएको बताएका हुन् ।
देशबसीका नाममा आज सम्बोधनका क्रममा उनले कहिलेकाहीँ मागै नभएका विषयमा पनि हात हालेर गन्तव्यमा पुग्न नसकिने जनाउँदै भने, ‘खेल खेल्ने जिम्मेबारी खेलाडीहरुको हो तर रेफ्री आफैँले खेल खेल्ने चाहना राखेमा समस्या हुन्छ । अदालतको फैसलाबाट दलीय प्रणालीमाथि धक्का दिइएको छ । संबिधान संशोधन गराउन खोजिएको हो । राज्यका अङ्गहरुमाथि जनताको बिश्वास गुम्ने र जनतामा नैराश्य उत्पन्न भई भयावह दुष्परिणाम ल्याउन सक्ने स्थिति पैदा गराइएको हो ।
सर्बोच्च अदालतको सोमवारको फैसलाबाट प्रतिनिधिसभा पुनः स्थापित भएको छ भने नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा आजै प्रधानमन्त्रीमा नियुक्त भएका छन् । आफ्नो प्रधानमन्त्रित्वको अन्तिम दिन उनले पहिला पनि आफू सरकारबाट बाहिरिएको र जनताका मतबाट पुनः सरकारको नेतृत्वमा पुगेको स्मरण गर्दै कहिलेकाहीँ जनताका अपेक्षा र संसदीय अङ्कगणितका बिचमा विरोधाभास हुने भएकामा अब राज्यका अन्य निकायका फैसलामा पनि विरोधाभास देखिने स्थिति आएको भनाइ व्यक्त गरे ।
मेरो अटल बिश्वास जनतामाथि छ । यो नै अन्तिम होइन । सरकारबाट बाहिरिनु परेकामा मलाई रत्तिभर चिन्ता छैन, मैले देश र जनताको हित र सेवालाई ध्यानमा राखेर सम्पूर्ण इमान्दारी तथा विकासलाई नयाँ सोचसहित असाधारणरुपमा अगाडि बढाएँ’, प्रधानमन्त्री ओलीले भने, प्रतिकूल अवस्थामा पनि महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न सफल भएका छौँ । मलाई प्रचार गर्नु छैन, देश र जनताका लागि काम गर्नु छ । म जहाँ रहेर पनि त्यही भूमिका निर्वाह गर्नेछु ।
ओलीले कोरोना महामारीका बिभिन्न लहरले समृद्धिका यात्रामा गम्भीर धक्का दिए पनि निराश नभई अघि बढाउनुपर्ने बताए।उनले विश्वभरि कोभिडविरुद्धको खोप अभाव भए पनि ल्याउने प्रयास जारी भएकाले सबै नागरिकलाई निःशुल्क उपलब्ध गराइने छ ।