नियुक्ति सच्चाएपछि नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा सहित चार मन्त्रीले लिए शपथ

0 Shares

राष्ट्रपतिको कार्यालयले नियुक्ति सच्चाएपछि नवनियुक्त प्रधानमन्त्री शेरवहादुर देउवा सहित ४ मन्त्रीले लिए शपथ लिएका हुन्  । 

शेरवहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन्  । मंगलवार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउबाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलवार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संबिधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएका थिए ।

सोही कारण शपथ ग्रहणमा ढिलाइ भएको थियो । पछि राष्ट्रपतिले सर्बोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिएका थिए ।

शेरवहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

झन्डै दुई घन्टाको विवादपछि नियुक्तिपत्रमा सर्वोच्च अदालतको परमादेश र संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरिएको भन्ने व्यहोरा थप गरिएको थियो ।

प्रधानमन्त्री देउवा सहित ले लिए शपथ

नवनियुक्त प्रधानमन्त्री देउवाले सानो आकारको मन्त्रिमण्डल गठन गरेका छन् । देउवाको मन्त्रीमण्डलमा सहभागी हुने चार जना मन्त्रीहरुलाई आजै शपथ खुवाइएको छ ।

नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ सपथ खुवाएकी हुन् ।नवनियुक्त मन्त्रीहरुमा गृहमन्त्रीमा बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रीमा पम्फा भुसाल र अर्थमन्त्रीमा जनार्दन शर्मा रहेका छन् ।

राष्ट्रपतिका नाममा जारी थियो परमादेश

सर्वोच्च अदालतले सोमबार प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गरेको थियो । साथै, प्रतिनिधिसभा पुनःस्थापना गरी एक साताभित्र संसद् अधिवेशन बोलाउन आदेश दिएको थियो ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीका लागि आह्वान भएपछि १ सय ४९ सांसदको हस्ताक्षरसहित दाबी गरेका आधारमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो ।

मंगलबार ५ बजेभित्र देउवालाई नियुक्त गरिसक्न राष्ट्रपति कार्यालयका नाममा जारी परमादेशमा भनिएको थियो ।

जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली र देउवा दुवैको दाबी नपुगेको निर्णय गरेकी थिइन् । उनले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकाले प्रधानमन्त्री पदमा नियुक्ति गर्न नमिल्ने बताएकी थिइन् ।

कांग्रेस सभापति देउवाले कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, नेकपा (एमाले) माधव नेपाल समूहका २६, जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई समूहका १२ र जनमोर्चाका १ गरी १४९ सांसदको समर्थन आफूलाई भएको दाबी गरेका थिए ।

ओलीले पनि एमालेका सबै १२१ र जसपाका ३२ सांसद गरी आफूलाई १५३ सांसदको समर्थन रहेको दाबी राष्ट्रपतिसमक्ष पेस गरेका थिए ।

राष्ट्रपतिले जेठ ७ गते राति नै मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसपछि एमालेको खनाल-नेपाल समूहसहित कांग्रेस, माओवादी, जसपाको यादव समूह र जनमोर्चाका गरी १४६ सांसदले प्रतिनिधिसभा पुन:स्थापना र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

सम्बन्धित समाचार

सबै