काठमाडौंः कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतको कोरियाली भाषा परीक्षा पुनः सञ्चालन गर्ने तयारी भएको छ। ईपीएस परीक्षाको प्रक्रिया पूरा गरेका प्रतिबद्ध श्रमिक जान सुरु भएसँगै नयाँका लागि भाषा परीक्षा लिने तयारीको बाटो खुलेको जनाएको छ ।
विभागका महानिर्देशक दीपक काफ्लेले दक्षिण कोरियाको मानव संसोधन विभाग (एचआरडी) सँग नयाँका लागि भाषा परीक्षा सञ्चालन गर्नेबारे सहमति भएको तर मिति भने तय हुन बाँकी रहेको जानकारी दिए।
अबको परीक्षा कम्प्युटर प्रणालीबाट हुने र यसका लागि ईपीएस कार्यालयमा पर्याप्त कम्प्युटर नभएकाले यस पटक पुल्चोक इन्जिनियरिङ क्याम्पसमा रहेको कम्प्युटर प्रयोगशालामा गर्ने विषयमा छलफल भएको उनको भनाइ छ।
महानिर्देशक काफ्लेले सीभीटीको माध्यमबाट भाषा परीक्षाका लागि ईपीएस कार्यालयमा रहेको कम्प्युटर पर्याप्त नभएकाले यस पटक पुल्चोकमा गरिने र अर्को पटकदेखि ईपीएस कार्यालयमा व्यवस्था गरिने जानकारी दिए।
ईपीएस शाखाका अनुसार २०२१ लागि २०७७ जेठमा हुनुपर्ने हुने परीक्षा अहिलेसम्म भएको छैन। सो वर्ष कोरियाले पाँच हजारभन्दा बढी श्रमिक लैजाने गरी कोटा (सिलिङ) पठाइसकेको थियो। केही वर्षदेखि कोरियन भाषा परीक्षा जेठको अन्तिम सातामा गरिँदै आएको थियो। गोरखापत्र दैनिकबाट