रातो मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटन ल्याउने तयारी

0 Shares

ललितपुर : ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई यही मङ्सिर २३ गते बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगिने भएको छ । मच्छिन्द्रनाथलाई छ महिना पाटन र अर्को छ महिना बुङ्मती राखिने चलन अनुसार तःबहाल ल्याउन लागिएको हो ।

यही मङ्सिर ९ गते आफूहरु बसेर हेरेको साइतअनुसार आउँदो बिहीबार रातो मच्छिन्द्रनाथलाई पाटन ल्याउने तयारी भइरहेको मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले जानकारी दिए । उनले भने, “त्यस दिन बिहान साङ्केतिकरूपमा भगवान्लाई हल्लाएर दिउँसो बोकेर पाटन ल्याइनेछ ।” मच्छिन्द्रनाथलाई पाटन ल्याउनुअघि केही कार्य गर्नुपर्ने भएकाले शनिबार भैरवनाथको पूजा र आज कुमारी अनि मच्छिन्द्रनाथको समेत पूजा गरिने मच्छिन्द्रनाथका मूल पुजारी कमलराज बज्राचार्यले बताए ।

उलने भने, “यी कार्यसँगै बुङ्मतीबाट पाटन पठाउनु चार दिनअघि मच्छिन्द्रनाथको रङरोहन अनि भोलि होम र बलि पूजा आदि गर्नेछौं ।”सो दिन गुरुज्यूको पल्टनले सलामी दिएपछि आठ जना पूजारी अर्थात् पानेजुले मच्छिन्द्रनाथलाई केही सुरक्षाकर्मी र काठमाडौँ उपत्यकाका जनताको सहभागितमा बाजागाजासहित खटमा बोकेर पाटन ल्याउने ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले जानकारी दिए ।

किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए ।

यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।

सम्बन्धित समाचार

सबै