काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवासँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का महासचिव तेन्जिन लेक्फेलले शिष्टाचार भेट गरेका छन् । बुधबार प्रधानमन्त्री देउवा र लेक्फेलबीच भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनीहरुबीच बिमस्टेक प्रक्रियालाई थप सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ । लेक्फेलले काठमाडौं स्थित सार्क सचिवालयमा पुगेर महासचिव एसला विराकुनसँग पनि भेट गरेका छन् ।
यस्तै मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग पनि बिमस्टेकका महासचिव लेक्फेलले भेट गरेका थिए । उक्त भेटमा उनले सन् २०१८ मा सम्झौता भएको ऊर्जासम्बन्धी गुरु योजनाका विषयलाई प्राथमिकताका साथ अगाडि बढाउँदा सदस्य राष्ट्रलाई फाइदा हुने भन्दै नेपाल सरकारले ध्यान दिनुपर्ने बताएका थिए ।
उनको जवाफमा मन्त्री भुसालले बिमस्टेकस्तरीय जलविद्युत् प्रयोग र प्रवद्र्धनका विषय अन्तरसम्बन्धित रहेको बताउँदै त्यसका लागि नेपालका तर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गर्न आफू तयार रहेको बताएकी थिइन् ।