काठमाडौँ: सत्तारुढ नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आन्तरिक कुरामा ‘बबाल’ गर्ने ‘राष्ट्रवादी’हरू देशको सिमाना मिचिँदा भने नबोलेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
देश भनेको आमा भएको उल्लेख गर्दै आमा लुटिँदा पनि नबोल्नेलाई जिउँदै मरेको भनिने टिप्पणी नेता भण्डारीले गरेका छन्। यसै क्रममा तिनैमध्ये आफूलाई एक ठान्दै उनले आफैंलाई श्रद्धाञ्जलि भनेका हुन्।
‘देशका सिमाना मिचिँदा कोही राष्ट्रवादी बोल्दैनन्, आन्तरिक कुरा हुने हो भने बबाल गर्दछन्’, उनले भनेका छन्, ‘देश भनेको आमा हुन्, आमा लुटिँदा नबोल्नेलाई जिउँदै मरेको भनिन्छ क्यारे, त्यसैले पीडाले आहत म आफैंलाई पनि श्रद्धाञ्जलिबाहेक म के भन्न सक्छु र!’
यस्तै नेपाली काँग्रेसको संस्थापनइतर पक्षबाट चुनाव लडेर जितेका दुईजना पदाधिकारीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकसम्म सडक निर्माणबारे उत्तराखण्डमा बोलेपछि उनीहरुले आलोचना गरेका हुन् ।
उपसभापति धनराज गुरुङले भारतलाई कुटनीतिक नोट पठाएर मोदीसँग सिधा वार्ता गरेर यो विषय टुंग्याउनुपर्ने बताए ।उनले भने,‘’भारतलाई कुटनीतिक नोट पठाएर भारतीय प्रधानमन्त्रीसँग सिधा वार्ता गरेर अब आइन्दा भारतीय प्रधानमन्त्री र शासकहरुले कुरा उठाउन नपाउने गरेर टुंग्याउनुपर्छ ।’
यसैगरी, महामन्त्री गगन थापाले भारतीय प्रधानमन्त्रीले लिपुलेकमा सडक विस्तार गर्ने अभिव्यक्ति दिएकोमा सरकारले पोजिसन तत्काल स्पष्ट पार्नुपर्ने बताए । उनले भारतसँग यो विषय राखेर नेपाली जनतालाई आश्वस्त पार्नुपर्ने बताएका छन् ।
गुरुङ र थापा दुवै संस्थापनइतर डा। शेखर कोइराला समूहबाट उम्मेदवार बनी विजयी भएका थिए । उनीहरुले भारतीय प्रधानमन्त्री मोदीको आलोचना गरेपनि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले कुनै धारणा सार्वजनिक गरेको छैन ।