सिन्धुपाल्चोक। नेपाल मौसम विज्ञान विभागले आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गतेसम्म बागमती प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ। सोही पूर्वानुमानलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा सिन्धुपाल्चोकका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम हुन सक्ने जनाएको छ।
कार्यालयले अत्यावश्यक बाहेक रातिको समयमा यात्रा नगर्न, जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न तथा स्थानीय विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय र स्वयंसेवकलाई पूर्वसूचना तथा चेतावनीअनुसार तयारी अवस्थामा रहन आग्रह गरेको छ।
त्यस्तै, जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई विपद् आउनुअघि नै सुरक्षित स्थानमा स्थानान्तरण हुन, खोला, खोल्सा तथा नदी किनारका बस्तीका बासिन्दालाई विशेष सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।
जिल्लास्थित सबै सरकारी कार्यालयका प्रमुख तथा महत्वपूर्ण जिम्मेवारीमा रहेका कर्मचारीलाई कार्यालय नछाड्न तथा उच्च सतर्कताका साथ तयारी अवस्थामा रहनसमेत अनुरोध गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले बाढी–पहिरोजन्य विपद्बारे जानकारी तथा सहयोगका लागि नेपाल प्रहरी हटलाइन १००, सशस्त्र प्रहरी बल हटलाइन १११४ तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र १२३४ लगायतका नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।
सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै सिन्धुपाल्चोक प्रशासनले सबै स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा सर्वसाधारणलाई समन्वय र उच्च सतर्कताका साथ रहन अनुरोध गरेको हो।