धनुषामा १४.४० ग्राम खैरो हेरोइनजस्तो पदार्थसहित २२ वर्षीय युवक पक्राउ

0 Shares

जनकपुरधाम । धनुषामा प्रतिबन्धित लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा परिचालन गरेको टोलीले विदेह नगरपालिका–६, बफै क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार २०८३ असोज ११ गते साँझ करिब ५ः३० बजे विदेह नगरपालिका–६, बफैमा लागुऔषध कारोबार भइरहेको सूचना प्राप्त भएपछि सादा पोसाकमा प्रहरी टोली परिचालन गरिएको थियो।
उक्त स्थानमा पुगेर शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिने तथा खानतलासी गर्ने क्रममा करिब ७/८ जनाको समूहले प्रहरीमाथि लाठी, भाटा लगायतका सामग्री प्रयोग गरी आक्रमण गर्न खोजेको प्रहरीले जनाएको छ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले आफ्नो सुरक्षाका लागि पेस्तोलबाट एक राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। त्यसपछि अन्य व्यक्तिहरू तत्काल फरार भएको र प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ।
सोही क्रममा प्रहरीले विदेह नगरपालिका–६, बफै बस्ने २२ वर्षीय अजय कुमार मण्डललाई नियन्त्रणमा लिएको छ। उनको साथबाट १४.४० ग्राम प्रतिबन्धित लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
बरामद सामग्री
खैरो हेरोइनजस्तो देखिने पदार्थ — १४.४० ग्राम
TVS Apache १६० सीसीको ON TEST मोटरसाइकल — १ थान
प्रहरीका अनुसार पक्राउ परेका मण्डललाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नियन्त्रणमा राखिएको छ। घटनामा संलग्न भई फरार रहेका अन्य व्यक्तिहरूको समेत खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

सम्बन्धित समाचार

सबै