सिरहाको झाझ्पटी नाकाबाट अवैध कपडा लहानसम्म सहजै पुग्ने आरोप

0 Shares

सिरहा । नेपाल–भारत सीमा क्षेत्रमा अवैध रूपमा भित्र्याइएका कपडा सिरहाको झाझ्पटी नाका हुँदै लहानसम्म सहजै पुग्ने गरेको स्थानीयको आरोप छ। सीमा क्षेत्रबाट भन्सार छलेर ल्याइएका कपडा रातिको समयमा मोटरसाइकल तथा अन्य साना सवारीसाधनमार्फत लहानतर्फ लैजाने गरिएको स्थानीयको दाबी छ।

स्थानीयका अनुसार झाझ्पटी नाकाबाट अवैध रूपमा कपडा भित्र्याउने क्रम पछिल्लो समय बढेको छ। ठूलो परिमाणमा कपडा बोकेका मोटरसाइकल तथा अन्य सवारीसाधन आवतजावत गर्ने गरे पनि सम्बन्धित निकायको प्रभावकारी निगरानी हुन नसकेको उनीहरूको गुनासो छ।

विशेषगरी रातिको समयमा सीमा क्षेत्रबाट कपडा ल्याउने र विभिन्न ग्रामीण बाटो हुँदै लहान बजारसम्म पुर्‍याउने गरिएको स्थानीय स्रोतको दाबी छ। यसरी भन्सार छली गरी सामान भित्रिँदा राज्यले राजस्व गुमाउनुका साथै वैधानिक रूपमा व्यापार गर्ने व्यवसायीसमेत प्रभावित हुने गरेको बताइएको छ।

स्थानीय एक व्यक्तिका अनुसार, “रातिको समयमा झाझ्पटीबाट ठूलो परिमाणमा कपडा आउने गरेको देखिन्छ। केही मिनेटमै लहान बजारतर्फ पुग्ने गरेको छ। निगरानी प्रभावकारी भए यस्तो गतिविधि नियन्त्रण गर्न सकिन्छ।”

यद्यपि, अवैध कपडा ओसारपसारमा सुरक्षा निकाय को  कुनै प्रत्यक्ष संलग्नता रहेको भन्ने विषयमा आधिकारिक पुष्टि भएको छैन। स्थानीयले भने सीमा क्षेत्रमा हुने यस्तो गतिविधिमाथि सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा भन्सार कार्यालयले संयुक्त रूपमा निगरानी बढाउनुपर्ने माग गरेका छन्। सीमाबाट भन्सार छली हुने गतिविधि नियन्त्रणका लागि नियमित गस्ती, चेकजाँच र सूचना संयन्त्रलाई प्रभावकारी बनाउनुपर्ने स्थानीयको भनाइ छ। झाझ्पटी नाकाबाट लहानसम्म अवैध कपडा कसरी पुगिरहेको छ भन्ने विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण आवश्यक देखिएको छ 

सम्बन्धित समाचार

सबै