भारतीय गाडी नियन्त्रणमा लिएपछि एसपीलाई भन्सार अधिकृतको चेतावनीपूर्ण फोन

0 Shares

धनगढी । भन्सार प्रक्रिया पूरा गरेर आएको भारतीय मालवाहक गाडी कैलालीको अत्तरियामा नियन्त्रणमा लिएपछि सशस्त्र प्रहरीका एसपी र कञ्चनपुर भन्सारका भन्सार अधिकृतबीच विवाद भएको छ।
कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्ट र सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलालीका प्रमुख एसपी खुमबहादुर केसीबीच भएको टेलिफोन संवादको अडियो सार्वजनिक भएको हो। अडियोमा भन्सार अधिकृत भट्टले नियन्त्रणमा लिइएको भारतीय गाडी तत्काल छाड्न वा भन्सार कार्यालयमा पठाउन आग्रह गर्दै गाडी नछाडिए उच्च तहमा जानकारी गराउने चेतावनी दिएको सुनिन्छ। प्रहरीका अनुसार यूपी ३१ सीटी १३०३ नम्बरको भारतीय गाडीमा टायर तथा ट्युबलगायतका सामान रहेको थियो। गड्डाचौकी भन्सारबाट जाँचपास भएर आएको उक्त गाडीलाई न्यून मूल्यांकन (अन्डर बिलिङ) भएको हुनसक्ने सूचनाका आधारमा अत्तरियामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको बताइएको छ।
फोन संवादमा भन्सार अधिकृत भट्टले भन्सारबाट जाँचपास भइसकेको गाडी बाटोमा नियन्त्रणमा लिएर व्यवसायीलाई दुःख दिन नहुने तर्क गरेका छन्। उनले गाडी तत्काल भन्सारमा पठाउनुपर्ने बताउँदै गाडी नछुटे गृहमन्त्री, प्रहरी महानिरीक्षक तथा भन्सार विभागका उच्च अधिकारीलाई जानकारी गराउने चेतावनी दिएको विवरण सार्वजनिक भएको छ। यता एसपी केसीले भने गाडी नियन्त्रणमा लिएपछि आवश्यक प्रक्रियाका लागि भन्सार कार्यालयमा बुझाउने बताएका छन्। गाडीको मूल्यांकन तथा भन्सार प्रक्रिया नियमअनुसार भए–नभएको विषयमा सम्बन्धित निकायबाट थप छानबिन आवश्यक देखिएको छ।
घटनाले भन्सार प्रशासन र सुरक्षा निकायबीचको समन्वय, जाँचपास भइसकेका मालवाहक सवारीसाधन पुनः नियन्त्रणमा लिने प्रक्रिया तथा राजस्व चुहावट नियन्त्रणको कार्यप्रणालीबारे प्रश्न उठाएको छ।

सम्बन्धित समाचार

सबै