काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका १४ थान हाते ट्याक्टर (पावर टिलर) सहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौंको स्वयम्भू क्षेत्रमा विभिन्न मिति र समयमा हाते ट्याक्टर चोरी भएको सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले खोजतलास तथा अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा प्रहरीले २०८३ असोज ८ गते भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ बाट काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट चोरी भएका पावर टिलरसहित चोरी तथा चोरीका सामानको खरिद–बिक्रीमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरूको साथबाट बा.३१ प २१५९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको जनाएको छ। पक्राउ परेकाहरूबाट विभिन्न स्थानबाट चोरी भएका १४ थान पावर टिलर फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका–५, छालिङका ४१ वर्षीय राजु मचामसी, २१ वर्षीय राजेश मचामसी र १९ वर्षीय राजन मचामसी रहेका छन्।
त्यस्तै, रौतहट परोहा नगरपालिका–५ घर भई भक्तपुरको बोडेमा कवाड सञ्चालन गर्दै आएका ३५ वर्षीय राजेश्वर जैसवाल र काभ्रेको पाँचखाल नगरपालिका–४ घर भई कवाड सञ्चालन गर्दै आएका ४८ वर्षीय बिपिन कुमार शाही पनि पक्राउ परेका छन्।
पक्राउ परेका पाँचै जनाविरुद्ध चोरी सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।
प्रहरीले चोरी भएका पावर टिलरहरू कहाँ–कहाँबाट चोरी भएका हुन्, चोरीमा अन्य व्यक्तिको संलग्नता छ/छैन तथा चोरीका सामानको खरिद–बिक्रीको सञ्जालबारे समेत थप अनुसन्धान गरिरहेको जनाएको छ।