काठमाडौं, असोज १० । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर शाखा कार्यालयले खैरो हेरोइनसहित विभिन्न प्रकारका नियन्त्रित लागूऔषध र नगद रकमसहित पाँच जनालाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय थानकोटको विशेष सूचनाका आधारमा शाखा कार्यालय थानकोट र प्रहरी वृत्त थानकोटबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरेको कारबाहीका क्रममा पाँच जनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरी नगरपालिका–६ का ३४ वर्षीय विक्रम घले, मकवानपुर थाहा नगरपालिका–१२ का २४ वर्षीय विजय तामाङ, काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ का ३४ वर्षीय गणेश लामा, मकवानपुर राक्सिराङ गाउँपालिका–२ का ३३ वर्षीय ललितबहादुर स्याङ्तान र सिन्धुली हरिहरपुरगढी गाउँपालिका–११ का ३२ वर्षीय रत्न तामाङ रहेका छन्।
उनीहरूको साथबाट प्रहरीले ३.२० ग्राम खैरो हेरोइन, डाइजेपाम ७८२ एम्पुल, फेनारगन ७८२ एम्पुल, बुप्रेनोर्फिन ७८२ एम्पुल र ट्रामाडोल १८ हजार ३०० क्याप्सुल बरामद गरेको छ।त्यस्तै, प्रहरीले नगद ५ लाख ६० हजार ४०० रुपैयाँ, बा.प्र.०३–००२ प ७५०४ नम्बरको मोटरसाइकल तथा ६ थान मोबाइल फोन समेत बरामद गरेको ब्यूरोले जनाएको छ।
प्रहरीका अनुसार लागूऔषध कारोबार तथा ओसारपसारसम्बन्धी सूचनाका आधारमा निगरानी बढाउँदै जाँदा उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त थानकोटमा बुझाइएको छ।
नेपाल प्रहरीका अनुसार डाइजेपाम, बुप्रेनोर्फिन, फेनारगन र ट्रामाडोलजस्ता औषधि चिकित्सकीय प्रयोजनमा प्रयोग हुने भए पनि दुरुपयोग तथा अवैध कारोबार नियन्त्रणका लागि नियमन गरिँदै आएको छ।
लागूऔषध नियन्त्रण ब्यूरोले पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा अवैध लागूऔषध तथा नियन्त्रित औषधिको ओसारपसारविरुद्ध कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।