काठमाडौं, असोज १० , प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भएर शनिबार स्वदेश फर्किएका छन्। प्रधानमन्त्री शाह असोज ६ गते (सेप्टेम्बर २२) संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा सेप्टेम्बर २२ देखि २८ सम्म आयोजना भइरहेको महासभाको यस वर्षको मूल विषय ‘Restoring Trust, Managing Transformation: A United Nations that Delivers for All’ रहेको छ।
प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभाको जनरल डिबेटलाई सम्बोधन गर्दै नेपालले भोगिरहेको जलवायु संकट, हालैको भोटेकोशी बाढीबाट भएको क्षति तथा हिमाली क्षेत्रमा बढ्दो विपद्को जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए।
उनले नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु परिवर्तनका गम्भीर असर भोगिरहेको उल्लेख गर्दै जलवायु परिवर्तन नेपालका लागि मानवीय समस्या मात्र नभई विकासको संकटसमेत भएको बताए।
प्रधानमन्त्री शाहले हिमताल, हिमनदी र पर्माफ्रस्ट पग्लिँदा हिमपहिरो, बाढी तथा पहिरोको जोखिम बढिरहेको उल्लेख गर्दै ‘Himalayan Climate Resilience Mechanism’ स्थापना गर्न प्रस्ताव गरे। साथै जोखिमयुक्त हिमतालको निगरानी, पूर्वसूचना प्रणालीको सुदृढीकरण र सीमापार विपद् व्यवस्थापनमा सहकार्य आवश्यक रहेको बताए।
उनले जलवायु संकट समाधानका लागि जलवायु न्याय, अन्तर्राष्ट्रिय ऐक्यबद्धता तथा ऐतिहासिक रूपमा बढी उत्सर्जन गर्ने र बढी स्रोतसाधन भएका मुलुकले थप जिम्मेवारी लिनुपर्नेमा जोड दिए। विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि अनुदानमा आधारित अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको र Loss and Damage Fund लगायतका जलवायु वित्तीय संयन्त्रबाट स्रोत परिचालन सहज बनाउनुपर्ने उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले नेपालले वन संरक्षण, जलविद्युत् विकास, विद्युतीय सवारी साधनको प्रवर्द्धन तथा स्थानीय तहमा जलवायु अनुकूलनका माध्यमबाट वातावरण संरक्षणमा योगदान गरिरहेको उल्लेख गर्दै विपद् आएपछि मात्र प्रतिक्रिया दिनेभन्दा ‘पूर्वतयारीको संस्कृति’ विकास गर्नुपर्नेमा जोड दिए।
महासभाका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गरेका थिए। भेटमा महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताएका थिए। नदी किनारका बासिन्दाको पुनर्वास, हरित पुनर्निर्माण तथा अतिकम विकसित राष्ट्र (LDC) सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थपका विषयमा समेत छलफल भएको थियो।
त्यस्तै, प्रधानमन्त्री शाहले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बानिजसँग भेटवार्ता गरी द्विपक्षीय हितका विभिन्न विषयमा छलफल गरेका थिए।
महासभाका क्रममा परराष्ट्रमन्त्रीले अतिकम विकसित मुलुक, भूपरिवेष्टित विकासोन्मुख मुलुक, असंलग्न मुलुक तथा G77 and China लगायतका मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाएका छन्। विभिन्न उच्चस्तरीय छलफल तथा Side Event मा पनि नेपालको तर्फबाट सहभागिता र सम्बोधन भएको प्रेस नोटमा उल्लेख छ।
प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्ने क्रममा ‘यो विश्व बुद्धले देखाएको बाटोमा हिंड्न सकोस्’ भन्दै विश्व शान्तिको आह्वानसमेत गरेका थिए। सरकारले प्रधानमन्त्रीको भ्रमणबाट अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति, छवि तथा प्रतिष्ठा अभिवृद्धि भएको जनाएको छ।