रौतहटमा ५ किलो ५०० ग्राम गाँजासहित युवक पक्राउ

0 Shares

रौतहट, १० असोज। रौतहटमा प्रहरीले ५ किलो ५०० ग्राम लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शुक्रबार दिउँसो करिब १ बजे यमुनामाई गाउँपालिका–४ स्थित सरुअठादेखि झुलुङ्गे पुल जाने बाटोमा BR30T5091 नम्बरको ग्लामर मोटरसाइकल चेकजाँच गर्ने क्रममा गाँजा बरामद भएको हो।
अस्थायी प्रहरी पोष्ट बमनहरबाट खटिएको प्रहरी टोलीले शंका लागेर मोटरसाइकल चेकजाँच गर्दा चालकको कालो झोलाभित्र लुकाएर राखिएको ५ किलो २५० ग्राम गाँजा फेला पारेको थियो।
गाँजासहित मोटरसाइकल चालक दुर्गाभगवती गाउँपालिका–१, पिपरा टोलका करिब २६ वर्षीय पुजन साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले साहलाई नियन्त्रणमा लिएर सोधपुछ तथा थप अनुसन्धान गर्ने क्रममा निजकै गुम्ती पसलमा समेत खानतलासी गरेको थियो। सो क्रममा शुक्रबार साँझ करिब ५ः५० बजे थप २५० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
बरामद भएको कुल ५ किलो ५०० ग्राम गाँजा, मोटरसाइकल तथा पक्राउ परेका साहमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै