धनुषामा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु, चार जनाको उद्धार

0 Shares

धनुषा  । अविरल वर्षाका कारण धनुषाको मिथिला नगरपालिका–११, आँपगाछीमा पहिरो खस्दा एकतले घर पुरिएको छ। घटनामा एक महिलाको मृत्यु भएको छ भने घरमा रहेका अन्य चार जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ।

प्रहरीका अनुसार असोज ११ गते बिहान करिब ९ः१० बजे स्थानीय राजन श्रेष्ठको टालीको छानो भएको एकतले घरमाथि पहिरो खसेर घर पुरिएको हो।
घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केवर तथा मातहतका प्रहरी र इलाका प्रहरी कार्यालय भिमान, सिन्धुलीबाट संयुक्त प्रहरी टोली घटनास्थलमा खटिएको थियो। टोलीले तत्काल खोज तथा उद्धार कार्य सुरु गरेको थियो।
घरभित्र रहेका ५ जनामध्ये ४ जनालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धारका क्रममा बिहान करिब ११ बजे राजन श्रेष्ठकी श्रीमती अन्दाजी ३५ वर्षीया कमला श्रेष्ठलाई मृत अवस्थामा फेला पारिएको हो।
मृतक कमला श्रेष्ठको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि सरकारी अस्पताल बर्दिबास, महोत्तरी पठाइएको छ।
अविरल वर्षाका कारण धनुषासहित मधेस प्रदेशका विभिन्न जिल्लामा बाढी, डुबान र पहिरोको जोखिम बढेको छ। पछिल्लो विवरणमा धनुषाको घटनामा कमला श्रेष्ठको मृत्यु भएको पुष्टि गरिएको छ।
प्रहरी तथा सुरक्षा निकायले वर्षाका कारण जोखिममा रहेका क्षेत्रमा सावधानी अपनाउन, जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानमा सर्न र आवश्यक अवस्थामा सुरक्षाकर्मीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

सम्बन्धित समाचार

सबै