प्रतिपक्षी दल नेपाली कांग्रेसकाे अध्यक्ष शेरबहादुर देउबालाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नलाई बहुमत सांसदको हस्ताक्षर लिएर बिपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति कार्यालय पुगेका छन् ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा संयुक्त बैठकपछि नेताहरु शीतल निबासतर्फ लागेका हुन् ।
बैठकको सहमतिअनुसार कांग्रेस अध्यक्ष देउवाका पक्षमा १४९ सांसदको हस्ताक्षर संकलन भएको माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए ।
उनका अनुसार कांग्रेस, माओवादी, जसपा र एमालेको माधवकुमार नेपाल समूह सांसहरुले हस्ताक्षर गरेका छन् ।
कांग्रेस सांसद गगन थापाका अनुसार एमाले नेपाल समूहका २७ सांसदले देउवाको पक्षमा हस्ताक्षर गरेका छन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् ।
यसअघि माधवकुमार नेपालको नाममा हस्ताक्षर गराईएको थियो । तर अन्तिम समयमा नेपालको ठाउँमा देउवाको नाम प्रस्ताव गरिएको हो ।