रेशम चौधरीलाई राष्ट्रपतिले दिएको कैद माफी सर्वोच्चद्वारा सदर

0 Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशमलाल चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले दिएको कैद माफी–मिनाहालाई सर्वोच्च अदालतले सदर गरेको छ।
न्यायाधीशद्वय शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले चौधरीलाई दिइएको कैद माफीविरुद्ध परेको रिट निवेदन खारेज गर्दै राष्ट्रपतिको निर्णयलाई वैध ठहर गरेको हो।
चौधरीलाई कैद माफी दिने निर्णयविरुद्ध टीकापुर घटनामा मृत्यु भएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। सर्वोच्चको पछिल्लो आदेशसँगै उक्त रिट खारेज भएको छ।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा एक नाबालकसहित आठ सुरक्षाकर्मीको मृत्यु भएको थियो। उक्त घटनामा चौधरीलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएका थिए भने सर्वोच्च अदालतले पनि उक्त फैसला सदर गरेको थियो।
त्यसपछि २०८० जेठमा सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा २७६ बमोजिम चौधरीको बाँकी कैद माफी गर्ने निर्णय गरेका थिए। सर्वोच्चको पछिल्लो फैसलाले राष्ट्रपतिको उक्त निर्णयमाथि परेको न्यायिक चुनौती टुंगिएको छ।

सम्बन्धित समाचार

सबै