प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्यूयोर्क प्रस्थान
0
Shares
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार साँझ संयुक्त राज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ।
प्रधानमन्त्री शाह आज साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै न्यूयोर्कका लागि प्रस्थान गर्नुभएको हो। उहाँ दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै न्यूयोर्क पुग्नुहुने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाहलाई दोहामा कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले स्वागत गर्नुहुनेछ। त्यसपछि प्रधानमन्त्री शाह असोज ७ गते (२३ सेप्टेम्बर) बुधबार दोहाबाट न्यूयोर्कतर्फ प्रस्थान गर्नुहुनेछ।
न्यूयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायत नेपाली अधिकारीहरूले प्रधानमन्त्री शाहलाई स्वागत गर्ने कार्यक्रम छ।
न्यूयोर्क पुगेपछि प्रधानमन्त्री शाह सोही दिन संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा पुग्नुहुनेछ। त्यहाँ उहाँलाई भ्रमण तथा महासभामा नेपालको सहभागितासम्बन्धी विषयमा परराष्ट्र सचिव, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत तथा न्यूयोर्कस्थित नेपालका महावाणिज्यदूतले क्रमशः ब्रिफिङ गर्नुहुनेछ।
त्यसपछि प्रधानमन्त्री शाहको सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा उहाँ सहभागी हुने कार्यक्रम रहेको छ।
महासचिव गुटेरेससँग भेटवार्ता
प्रधानमन्त्री शाहले असोज ८ गते (२४ सेप्टेम्बर) संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुनेछ। भेटवार्तापछि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ।
महासभामा प्रधानमन्त्री शाहले नेपालको तर्फबाट नेपालको धारणा, प्राथमिकता तथा अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्धित विषयहरू प्रस्तुत गर्नुहुने अपेक्षा गरिएको छ।
असोज ९ गते दोहा हुँदै काठमाडौं फर्किने
महासभाका कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह असोज ९ गते (२५ सेप्टेम्बर) न्यूयोर्कबाट कतारको दोहातर्फ प्रस्थान गर्नुहुनेछ। दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले उहाँलाई स्वागत तथा बिदाइ गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाह असोज १० गते (२६ सेप्टेम्बर) काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नुहुने तालिका रहेको छ।
यस भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्व गर्नुका साथै विभिन्न उच्चस्तरीय भेटवार्ता तथा कूटनीतिक कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।