काठमाडौंः बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्ने नहेर्ने भन्ने बारे प्रधानन्यायाधीश बाहेकका न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका छ्न् । तिहार अघि न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणका मुद्दाहरु हेर्दै आएका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबार पूर्वसहमति विपरीत आफैलाई पेसी तोकेपछि न्यायाधीशहरू असन्तुष्ट छन् ।
प्रधानन्यायाधीशले सोमबार ६ वटा इजलास तोकेका मध्ये १ इजलाश प्रधानन्यायाधीश आफैका लागि तोकेका छन्। सोमबार ७ मुद्दाको पेशी तोकिएको सर्वोच्चको दैनिक पेसी सूचीमा उल्लेख छ । पेशी तोकिएका सबै मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित छन् । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै न्यायाधीशहरुले मार्ग प्रशस्त गर्न आग्रह गर्दै आएका छन् ।
तर, जबराले न्यायाधीशसँगको छलफलमा आफूलाई वैशाखसम्म काम गर्न दिन प्रस्ताव अघि सारेका थिए। तर न्यायाधीश र कानुन व्यवसायीहरु जबराले राजीनामा नदिएसम्म काममा नफर्किने बताउँदै आएका छन् ।