पथलैयामा ‘Police Baton २०८३’ अन्तर्गत अनुगमन तथा निरीक्षण सम्पन्न

0 Shares

बारा /असोज ६ ।

नेपाल प्रहरीको कार्यदक्षता
मूल्याङ्कन कार्यक्रम ‘Police Baton २०८३’ अन्तर्गत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया, बाराको अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ।
२०८३ साल असोज ६ गते सम्पन्न अनुगमन तथा निरीक्षण कार्यक्रममा ‘Police Baton २०८३’ केन्द्रीय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाह सहितका प्रहरी अधिकृतहरूको टोलीले पथलैयास्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको निरीक्षण गरेको हो।
अनुगमनका क्रममा टोलीले कार्यालयको भौतिक पूर्वाधारको अवस्था, उपलब्ध स्रोत–साधनको व्यवस्थापन, मानव स्रोत व्यवस्थापन तथा ट्राफिक प्रहरीबाट हुँदै आएका विभिन्न कार्यसम्पादन लगायतका विषयमा स्थलगत निरीक्षण तथा जानकारी लिएको थियो।
त्यसैगरी कार्यालयअन्तर्गतका विभिन्न शाखाहरूको कार्यसम्पादन, प्रहरी कर्मचारीको परिचालन, ट्राफिक व्यवस्थापनसँग सम्बन्धित गतिविधि तथा कार्यालयबाट प्रदान हुँदै आएको सेवाको अवस्थाबारे समेत अनुगमन गरिएको थियो।
अनुगमनका क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक शाहले कार्यालयको समग्र कामकारबाहीका सम्बन्धमा जानकारी लिनुका साथै प्रहरी कर्मचारीहरूले आफ्नो जिम्मेवारीलाई थप प्रभावकारी, अनुशासित र सेवामुखी ढंगले निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको थियो।
उहाँले कार्यालयमा कार्यरत सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिँदै प्रहरी संगठनप्रति नागरिकको विश्वास अभिवृद्धि हुने गरी आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभएको थियो।
कार्यक्रमका क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक शाहले कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभएको थियो। वृक्षारोपणमार्फत कार्यालय परिसरलाई हरियाली तथा वातावरणमैत्री बनाउने सन्देशसमेत दिइएको छ।
नेपाल प्रहरीले सञ्चालन गर्दै आएको ‘Police Baton’ कार्यदक्षता मूल्याङ्कन कार्यक्रम अन्तर्गत प्रहरी कार्यालयहरूको भौतिक अवस्था, स्रोत–साधनको उपयोग, मानव स्रोत व्यवस्थापन तथा सम्बन्धित कार्यालयले सम्पादन गर्दै आएका प्रहरी कार्यहरूको समग्र अवस्थाको मूल्याङ्कन गरिँदै आएको छ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले बारा तथा आसपासका क्षेत्रमा राजमार्ग सुरक्षा, ट्राफिक व्यवस्थापन तथा सडकमा हुने विभिन्न गतिविधिको व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। सोही कार्यसम्पादनको अवस्थालाई समेत मूल्याङ्कन टोलीले अनुगमन गरेको जनाइएको छ।
अनुगमन तथा निरीक्षणका क्रममा देखिएका विषयहरू, कार्यालयको व्यवस्थापन तथा कार्यसम्पादनको अवस्थाका आधारमा आवश्यक सुधार र प्रभावकारी सेवा प्रवाहका लागि सम्बन्धित प्रहरी कर्मचारीलाई निर्देशनसमेत दिइएको थियो।
कार्यक्रमले कार्यालयको कार्यसम्पादनलाई थप व्यवस्थित, प्रभावकारी र उत्तरदायी बनाउन तथा प्रहरी सेवाको गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै