काठमाडौं । प्रहरी हुँ भन्दै डरत्रास तथा धाकधम्की दिई रकम असुल गरेको आरोपमा काठमाडौंमा दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार २०८३ असोज ४ गते साँझ करिब ६ः४० बजे चन्द्रागिरी नगरपालिका–९, थानकोटस्थित एक स्वास्थ्य क्लिनिकमा अपरिचित व्यक्तिहरू प्रवेश गरेका थिए। उनीहरूले आफूहरू सादा पोसाकमा खटिएका प्रहरी भएको बताउँदै मेडिकलहरू अनुगमन गर्न आएको भन्दै डरत्रास र धाकधम्की दिएको प्रहरीले जनाएको छ।
उक्त क्रममा उनीहरूले औषधि पसलको काउन्टरमा बिक्रीबापत राखिएको नगद रकमसमेत लिएर भागेको सूचना प्राप्त भएपछि प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले घटनामा संलग्न व्यक्तिहरूको खोजी थालेको थियो।
खोजतलासका क्रममा प्रहरीले चन्द्रागिरी नगरपालिका–२ बसुन्डोल बस्ने ३१ वर्षीय रोशन सुर्खेती र २६ वर्षीय संजय बिसुरकेलाई पक्राउ गरी नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका उनीहरूमाथि अपराधिक लाभ एक्सटर्सन (ठगी) सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक तथा प्रवक्ता/सूचना अधिकारी दानबहादुर थापाले जानकारी दिएका छन्।