काठमाडौं, असोज ७ गते । नेपालमा मनसुन पुनः सक्रिय बन्दै गएसँगै आगामी केही दिन देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा, मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मनसुन विशेष मौसम बुलेटिन–३ (अपडेट) अनुसार असोज ९ गतेदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने तथा एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने सम्भावना छ।
त्यस्तै, मधेश प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
देशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ। उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्य भाग आसपास रहेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै Deep Depression (बलियो न्यून चापीय क्षेत्र) मा परिणत भई पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने क्रममा रहेको विभागले जनाएको छ।
उक्त मौसमी प्रणालीको प्रभावका कारण बुधबारदेखि कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने पूर्वानुमान गरिएको छ।
जोखिमप्रति सतर्क रहन आग्रह
सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेका नदी तथा तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। साथै सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
विभागले सम्भावित वर्षा, बाढी तथा पहिरोजस्ता जोखिमबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सम्बन्धित सबै निकाय तथा सर्वसाधारणलाई पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसमसम्बन्धी थप जानकारीका लागि मौसम पूर्वानुमान महाशाखाले नियमित रूपमा जारी गर्ने मौसमसम्बन्धी सूचना तथा पूर्वानुमान हेर्नसमेत अनुरोध गरिएको छ।